विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन

काठमाडौं– तिलगंगा आँखा प्रतिष्ठान अन्तर्गतको तिलगंगा स्कुल अफ अप्थाल्मिक साइन्सले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को निर्देशनलाई अटेर गरेको छ । विद्यार्थीहरुबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशनलाई तिलगंगाले अटेर गरेको हो ।
एजुकेशन समाचारले गत पुष १४ गते ‘तिलगंगाले विद्यार्थीसँग नियमविपरित २ करोड बढी शुल्क असुलेको खुलासा’ शिर्षकमा समाचार प्रकाशित गरेपछि सिटिइभिटीले निर्देशक हेमन्त पराजुलीको नेतृत्वमा पुष २१ गते छानबिन समिति गठन गरेको थियो । उक्त छानविन समितिले बुझाएको प्रतिवेदनका आधारमा सिटिइभिटीले माघ १५ गते सदस्य सचिव स्तरीय निर्णय गर्दै विद्यार्थी, अभिभावक एवम् सरोकारवालाहरुसँग छलफल गरी विवादरहित तरिकाबाट बढी हुन जाने शुल्क फिर्ता गरी त्यसको प्रमाण १५ दिन भित्र बुझाउनु भनी तिलगंगालाई निर्देशन दिएको थियो । १५ दिनको अवधिमा तिलगंगाले न त कसैसँग छलफल गर्यो न विद्यार्थीसँग असुलेको बढी शुल्क नै फिर्ता गर्यो । उल्टै फागुन ६ गते विद्यार्थीलाई नियमानुसार शुल्क तिर्न सुचना जारी गर्यो ।
तिलगंगाले २०७१ मंसिर ९ गतेदेखि सम्बन्धन प्राप्त गरी अप्थाल्मिक साइन्सका कार्यक्रमहरु अध्यापन गराउँदै आएको छ । जसले प्रशिक्षण शुल्कमा अन्य निजी संस्थाले भन्दा ३० प्रतिशत छुट दिने शर्तमा सम्बन्धन स्वीकृती पाएको थियो । ‘विद्यार्थीहरुसँग लिने प्रशिक्षण शुल्क निजी संस्थाको भन्दा कम्तीमा ३० प्रतिशत कम लिनुपर्ने छ,’ तिलगंगालाई सिटिइभिटीले दिएको सम्बन्धन पत्रको ४० नम्बर बुँदामा उल्लेख छ ।
तर, तिलगंगाले भने आफूले तय गरेको शुल्क संरचनामै उल्लेख गरिएको ट्युसन फी अर्थात प्रशिक्षण शुल्कमा समेत छुट दिएको छैन । अन्य निजी संस्थाको तुलनामा ३० प्रतिशत छुट दिनु त निकै टाढाको कुरा हो ।

हाल तिलगंगामा अप्थाल्मिक असिस्टेन्ट (ओए)मा अध्ययन गर्ने विद्यार्थीले ३ लाख ९४ हजार रुपैयाँ शुल्क बुझाउँदै आएका छन् । जसमा ट्युसन फी शिर्षकमा मात्र मासिक उनीहरुले ६ हजार ५ सय रुपैयाँ बुझाउँछन् । यसरी तीन वर्षमा विद्यार्थीहरुले प्रशिक्षण शुल्क शिर्षकमा २ लाख ३४ हजार रुपैयाँ भुक्तानी गर्दै आएका छन् । यदि तिलगंगाले सम्बन्धन प्राप्त गर्दा दिने भनिएको ३० प्रतिशत छुटलाई कार्यान्वयन गर्ने हो भने विद्यार्थीले प्रशिक्षण शुल्कबापत १ लाख ६३ हजार ८ सय रुपैयाँमात्र तिरे पुग्छ । तर, तिलगंगाले आफ्नै शुल्क संरचनामा उल्लेख भएको छुटलाई समेत ख्याल नगरी प्रत्येक ब्याचका विद्यार्थीहरुबाट मनोमानी ढंगले ७० हजार २ सय रुपैयाँ बढी शुल्क असुलिरहेको छर्लङ्ग देखिन्छ ।
तिलगंगामा हाल दशौँ ब्याचका विद्यार्थीहरु ओए अध्ययन गरिरहेका छन् । यो ब्याचसम्म आइपुग्दा तिलगंगाले ३ सय ८० जनालाई ओए अध्यापन गराएको छ । जसमा ४० जना विद्यार्थीले पूर्ण छात्रवृत्तिमा अध्ययन गरेका छन् । यसबाहेक अन्य ३ सय ४० जनालाई भने सम्बन्धन पत्रमा उल्लेख गरिएको छुटसमेत नदिई पूर्ण शुल्क ३ लाख ९४ हजार रुपैयाँ लिइरहेको छ । तिलगंगाले आफ्नै शुल्क संरचनालाई पुनरावलोकन गर्ने हो भने पनि प्रत्येक विद्यार्थीलाई ७० हजार २ सय फिर्ता गर्नुपर्ने देखिन्छ । यो रकम २ करोड ३८ लाख ६८ हजार रुपैयाँ हुन आउँछ ।

तर, सिटिइभिटीले भने अन्य निजी संस्थाले लिइरहेको शुल्कका आधारमा बढी हुन आउने शुल्क फिर्ता गर्न निर्देशन दिएको हो । जसमा तिलगंगाले जस्तै सिटिइभिटिबाट सम्बन्धन लिइ ओए अध्यापन गराइरहेको कलेज अफ अप्थाल्मिक हेल्थ साइन्स नेपालगन्ज, फत्तेबाल आँखा अस्पतालले ३ लाख ७५ हजार रुपैयाँमा ओए अध्यापन गराइरहेको छ । त्यस्तै, सिटिइभिटीबाटै सम्बन्धनप्राप्त लुम्बिनी आँखा अस्पतालले ४ लाख ४ हजार रुपैयाँ शुल्कमा ओए पढाउँदै आएको छ । यी दुई संस्थालाई आधार मान्ने हो भने तिलगंगाले प्रति विद्यार्थीलाई १ लाख १२ हजार ५०० देखि १ लाख २१ हजार रुपैयाँसम्म फिर्ता गर्नुपर्ने हुन्छ । जसको कुल रकम ३ करोड ८२ लाख ५० हजार देखि ४ करोड १२ लाख ८ हजार रुपैयाँ हुन आउँछ । यही रकम फिर्ता नगर्नका लागि अनेक बाहना बनाउँदै तिलगंगाका पदाधिकारीहरु सिटिइभिटी धाइरहेका छन् ।
निर्देशन पुनः विचार गर्न भन्दै निवेदन
निर्देशन पुनः विचार गर्न भन्दै तिलगंगा स्कुल अफ अप्थाल्मिक साइन्स प्रिन्सिपल डा. अनु मानन्धरले फागुन ५ गते सिटिइभिटीमा निवेदन दर्ता गराएकी छन् । यस विषयमा टिप्पणी उठेर प्रक्रियामा गएको सिटिइभिटीका निर्देशक दामोदर देवकोटाले जानकारी दिए । के सिटिइभिटीले आफैंले दिएको निर्देशनमा पुनः विचार गर्ला त ? एजुकेशन समाचारको प्रश्नमा देवकोटाले भने, ‘हामीले सम्बन्धन दिएको संस्थालाई निर्देशन दिने अधिकार हाम्रो नै हुन्छ, यदि कसैले हाम्रो निर्देशनलाई अवज्ञा गर्छ भने हामी नियमानुसार कारवाहीको प्रक्रियामा अघि बढ्छौँ ।’
यदि तिलगंगाले विद्यार्थीहरुबाट असुलेको बढी शुल्क निर्देशनानुसार फिर्ता नगरे सिटिइभिटीले आगामी भर्ना प्रक्रिया नै रोक्न सक्ने देवकोटा बताउँछन् । ‘हामी केही दिन भित्रै निर्देशनसहितको अर्को पत्र पठाउँछौँ त्यसमा पनि उहाँहरुले आनाकानी गर्नुभयो भने हामी यो विषयलाई परिषद्को बैठकमा लैजान्छौँ,’ उनले भने, ‘बाँकी कुरा परिषद्ले नै गर्छ ।’
तिलगंगाकी प्रिन्सिपल मानन्धर भने यस विषयमा आफू केही पनि नबोल्ने बताउँछिन्। ‘म यो विषयमा केही बोल्दिनँ, तिलगंगाको एचआर प्रमुख मुकेश सिंहसँग कुरा गर्नुहोला,’ एजुकेशन समाचारसँगको टेलिफोन संवादमा उनले भनिन् ।
तिलगंगाका मानव स्रोत साधन प्रमुख मुकेश सिंह भने आफूहरुले लिएको शुल्क प्रमाणित हुने तथ्य प्रमाण सिटिइभिटीलाई बुझाएको दाबी गर्छन् । सिटिइभिटीले १५ दिन भित्र विद्यार्थी अभिभावक र सरोकारवालाहरुसँग छलफल गरी बढी हुन आउने शुल्क फिर्ता गर्न दिएको निर्देशन किन पालना नगर्नुभएको ? एजुकेशन समाचारको प्रश्नमा सिंह भन्छन्, ‘हामीले सिटिइभिटीलाई त्यस विषयमा जवाफ पठाएका छौँ जसमा हामीले लिएको फी प्रमाणित हुने तथ्यहरु पनि समावेश गरेका छौँ ।’
त्यस्तै, तिलगंगाले ओए अध्यापन सुरु गर्नुभन्दा अघि नेत्र ज्योति संघले अप्थाल्मिक असिस्टेन्टको ४ लाख ४ हजार रुपैयाँ शुल्क लिँदै आएको र त्यसैको सेरोफेरोमा तिलगंगाले फी निर्धारण गरेको उनको भनाई छ । ‘हामीले २०७१ सालमा ओए अध्यापन सुरु गरेका हाँै,’ उनले भने, ‘हामीभन्दा अघि ओए सुरु गरेको नेत्रज्योति संघ अन्तर्गतको लुम्बिनी आँखा अस्पतालले ४ लाख ४ हजार रुपैयाँमा अध्यापन गराइरहेको छ त्यसको तुलनामा हामीले त झन् १० हजार रुपैयाँ कम लिइरहेका छौँ ।’ यदि लुम्बिनी आँखा अस्पतालको शुल्कलाई आधार मान्ने हो भने तिलगंगाले ३० प्रतिशत छुटसहित २ लाख ८२ हजार ८ सय रुपैयाँमा ओए अध्यापन गराउनुपर्ने हुन्छ ।
यो पनि पढ्नुहोस्
तिलगंंगा आँखा अस्पतालले विद्यार्थीसँग नियमविपरित २ करोड बढी शुल्क असुलेको खुलासा
ताजा अपडेट
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- शिक्षा विकास तथा समन्वय इकाइ काठमाडौंका प्रमुख बिचारीप्रसाद अधिकारीको निधन
- स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. बाराकोटी
- सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी
- सहिद आदर्श क्याम्पसको स्ववियु सभापतिमा नेविसंघको तर्फबाट राजेश तिमल्सिनाको उम्मेदवारी
- स्ववियु निर्वाचनः त्रिविका ५५ वटा क्याम्पसमा भयो उम्मेदवारी दर्ता, सात क्याम्पसमा हुन सकेन
- लुम्बिनी बौद्ध विश्वविद्यालयले अमेरिकाको क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्ने
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
धेरैले पढेको
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- “Exciting Rivals and Unmatched Action at The Aradhya Pickleball Championship 2025”
- शुभश्री कलेज अफ म्यानेजमेन्ट र मर्क्युर होटलबीच सम्झौता
- सातौं सेन्ट लरेन्स साइन्स एण्ड आइटी एक्स्पो सुरु, १० हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान
- सहिद आदर्श क्याम्पसको स्ववियु सभापतिमा नेविसंघको तर्फबाट राजेश तिमल्सिनाको उम्मेदवारी
- रिलायन्स एजुकेसन नेटवर्कको पुस्तक समीक्षा स्वर्ण उत्सव सम्पन्न
- रिलायन्स एजुकेसन नेटवर्कको विज्ञान र साहित्य मेला सम्पन्न
तपाईको प्रतिक्रिया