Techie IT
  • शनिबार, चैत्र १, २०८१ / Saturday, March 15, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठशिक्षा समाचारटाइमलाइन स्कुलद्वारा गणेशप्रसाद रिजाल स्मृति गायन प्रतियोगिताको चौथो संस्करण सम्पन्न

टाइमलाइन स्कुलद्वारा गणेशप्रसाद रिजाल स्मृति गायन प्रतियोगिताको चौथो संस्करण सम्पन्न


काठमाडौं । जोरपाटीस्थित टाइमलाइन स्कुलले स्वर्गीय गणेशप्रसाद रिजाल स्मृति गायन प्रतियोगिता तथा स्रष्टा सम्मानको चौंथो संस्करण सम्पन्न गरेको छ । स्कुलले शुक्रबार विद्यालयको प्राङ्गणमा गायन प्रतियोगिताको चौंथो संस्करण सम्पन्न गरेको हो ।

प्रतियोगितामा ३० वटा विद्यालयकाबीच प्रतिस्पर्धा भएको थियो । जसमध्ये कपनस्थित रिलायन्स इन्टरनेशनल एकेडेमीले प्रथम स्थान हासिल गरेको छ । त्यस्तै, द सेलिब्रेसन को–एड स्कुल द्वितीय हुँदा नारायणटारस्थित सुनौलो भविष्य स्कुलले तृतीय स्थान हासिल गरेको छ । प्रथम, द्वितीय र तृतीयले क्रमश ८ हजार, ६ हजार र ४ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको थियो ।

यसैगरी, अत्तरखेलस्थित लिबर्टी एकेडेमी चौथो, जुगल नव गुरुकुल स्कुल पाचौँ, इष्टपोल स्कुल छैटौँ, गोठाटार इङ्लिस स्कुल सातौँ, युनाइटेड युनिभर्सल स्कुल आठौँ, बसुन्धारा नेशनल एकेडेमी नवौँ र हाइली क्रिएटीभ स्कुलले दशौँ स्थान हात पारेको थियो । चौंथोदेखि दशौँ हुने प्रतियोगीहरुलाई २ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्रमार्फत पुरस्कृत गरिएको थियो ।

प्रतियोगितामा बरिष्ठ संगीतकार भुपेन्द्र रायामाझी र राधा राईले निर्णायकको भूमिका निर्वाह गरेका थिए । प्रतियोगितामा गीतकारको निर्णायकका रुपमा साहित्यकार नारायण नेपाल थिए ।

प्रतियोगितामा गीतकारतर्फ ग्लोबल पब्लिक स्कुलका एमके परासरले प्रथम स्थान हात पार्न सफल भए । त्यस्तै, नवअरुणिमा स्कुलका शंकर योगी द्वितीय हुँदा साइप्रस पब्लिक स्कुलका गिरीाज राई तृतीय भएका थिए । उनीहरुलाई नगद, ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको थियो ।

त्यस्तै, संगीतकारतर्फ अक्सिडेन्टल पब्लिक स्कुलका राजेन्द्र सुवेदी प्रथम भएका छन् । जोरपाटीस्थित सिर्जना इङ्लिस सेकेण्डरी स्कुलका दीपक तामाङ द्वितीय हुँदा नव सुन्ताखान एकेडेमीका डा. निरञ्जन भण्डारीले तृतीय स्थान हासिल गरेका थिए ।

टाइमलाइनले विगतका वर्षहरुमा झैँ यसवर्ष पनि स्रष्टा सम्मान गरेको छ । जसमा साहित्यकार गोविन्द घिमिरे (वेदमणी)लाई नगद पाँच हजार रुपैयाँसहित ताम्रपत्र र दोसल्लाले सम्मान गरिएको थियो ।


कार्यक्रमको उद्घाटन समारोहलाई बागमती प्रदेशका पूर्व सदस्य रामेश्वर फुयाँलले उद्घाटन गरेका थिए । भने, पुरस्कार वितरण एवम् समापन समारोहका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपककुमार रिसाल रहेका थिए । त्यस्तै, विशेष अतिथिका रुपमा नगरपालिकाकी उप–प्रमुख सान्नानी लामा थिइन् ।

कार्यक्रममा विशेष अतिथि लामाले विद्यार्थीहरुको अन्तरर्निहित प्रतिभा प्रस्फुटनका लागि टाइमलाइन स्कुलले उदाहरणीय काम गरेको बताइन् । ‘हामीले नगरपालिकाका तर्फबाट पनि यस्ता प्रतिभा प्रस्फुटनका निम्ति विभिन्न काम गर्दै आएका छौँ,’ उनले भनिन् । कार्यक्रममा बोल्ने क्रममा लामाले प्रतिस्पर्धीहरुलाई हौसला दिँदै कुनै एउटा प्रतियोगितामा पराजय बेहोर्दैमा असफल नभइने बताइन् । ‘यस्ता प्रतिस्पर्धाले नयाँ सिकाई र सिर्जना जन्माउन सहयोग गर्छ,’ उनले भनिन् ।

त्यस्तै, कार्यक्रमका विशेष अतिथि एवम् नगरपालिकाका शिक्षा विभाग प्रमुख बिरबहादुर खड्काले टाइमलाइनले गरेको कार्यक्रमको निरन्तरताका लागि शुभकामना दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रिसालले काठमाडौं पूर्वी क्षेत्रमा विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनका निम्ति निरन्तर सांगीतिक कार्यक्रम गर्ने टाइमलाइन स्कुलमात्र रहेको बताए । ‘टाइमलाइनमात्र एउटा त्यस्तो स्कुल हो जसले विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि निरन्तर सांगीतिक कार्यक्रम गर्दै आएको छ,’ उनले भने । पछिल्लो पुस्तामा गीत संगीतप्रतिको झुकाव बढ्दै गएको बताउँदै नगर प्रमुख रिसालले नगरपालिकाले पनि सांगीतिक क्षेत्रको उन्नयन र विकासका निम्ति काम गरिरहेको बताए ।

टाइमलाइन स्कुलका अध्यक्ष नवराज रिजालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै रिजालले गायन प्रतियोगिता र स्रष्टा सम्मानको चौथो संस्करणसम्म ल्याउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरे । साथै, यो कार्यक्रमले वर्षेनी निरन्तरता पाउने प्रतिवद्धतासमेत व्यक्त गरे । त्यस्तै, स्कुलका प्रिन्सिपल रामप्रसाद बडालले कार्यक्रममा देखिएका कमी कमजोरीलाई सुधार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरे । ‘विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि गरिएको यो कार्यक्रमलाई हामी अझै परिस्कृत गर्दै लैजाने छौँ,’ उनले भने ।

स्वर्गीय गणेशप्रसाल रिजाल टाइमलाइन स्कुलका अध्यक्ष नवराज रिजालका पिता हुन् ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको