Techie IT
  • बिहीबार, मंसीर ६, २०८१ / Thursday, November 21, 2024
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठइन्टरभ्यु‘सुलभ मूल्यमा गुणस्तरीय इन्जिनियरिङ शिक्षा प्रदान गर्ने हिलसाइडको उद्धेश्य हो’

‘सुलभ मूल्यमा गुणस्तरीय इन्जिनियरिङ शिक्षा प्रदान गर्ने हिलसाइडको उद्धेश्य हो’


भोजपुरमा जन्मिएका गोपिकृष्ण न्यौपाने कोटेश्वरस्थित हिलसाइड इन्जिनियरिङ कलेजका प्रबन्ध निर्देशक हुन् । एसएलसीसम्मको शिक्षा भोजपुरबाटै पुरा गरेका न्यौपानेले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरबाट स्नातक तहसम्मको अध्ययन पुरा गरे । त्यस्तै, त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसबाट एमबीए सम्मको अध्ययन गरेका न्यौपाने कानुनका ज्ञातासमेत हुन् । उनले कानुनमा स्नातकोत्तर गरेका छन् । झण्डै २४ वर्ष चौधरी ग्रुपमा महाप्रबन्धक भूमिकामा रहेर काम गरेका न्यौपानेसँग १० वर्ष माच्छापुच्छ्रे बैंकमा सन्चालकको जिम्मेवारीमा रहेर काम गरेको अनुभव छ । यसैगरी, नेपाल अटो मोबाइल्स डिलर्स एसोसिएसन (नाडा) र हस्पिटल एसोसिएसनको पूर्व महासचिवसमेत भइसकेका न्योपाने उदयपुर सिमेन्टको महाप्रबन्धक भूमिकामा समेत थिए । हिजोआज भने न्यौपाने कोटेश्वरस्थित हिलसाइड इन्जिनियरिङ कलेजमा भेटिन्छन् । उनीसँग नेपालमा इन्जिनियरिङ शिक्षाको विगत, वर्तमान र भविष्यमाथि केन्द्रीत रहेको गरिएको कुराकानीको सम्पादित अंश :

यतिबेला नेपालमा इन्जिनियरिङ शिक्षाको अवस्था कस्तो छ ?

नेपालको इन्जिनियरिङ शिक्षा दक्षिण एसियामै राम्रो मानिन्छ । विशेषगरी इन्जिनियरिङ र मेडिकल शिक्षा नेपालमा उत्कृष्ट पढाइ हुन्छ भन्ने छाप बसेको छ । वास्तवमा यो हो पनि । किनभने, नेपालको तुलनामा अन्य देशमा इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीलाई प्रयोगात्मक सिकाइका लागि माइलेज पाउन गाह्रो छ । नेपालको विकास निर्माणको गति भिन्न भएका कारण विद्यार्थीहरुलाई अध्ययनको अवसर मिलिरहेको छ । यतिबेला समृद्ध नेपाल बनाउने सदिक्षाका साथ देश अघि बढीरहेको छ । त्यसका लागि सबैभन्दा मूल कुरा भनेको सडक, विमानस्थल, हाइड्रोपावर लगायतका पूर्वाधार बन्न जरुरी छ । तर, पछिल्लो समय कक्षा १२ अध्ययन गर्ने बित्तिकै विदेशिने प्रतिस्पर्धा चलिरहेको छ । जसकारण गत वर्षदेखि इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थी कम भएको हो कि भन्ने छ ।

नेपालको इन्जिनियरिङ शिक्षा उत्कृष्ट भनिरहँदा विदेशी विद्यार्थीलाई नेपालमा इन्जिनियरिङ अध्ययनका लागि किन आकर्षित गर्न सकिएको छैन ?

भारतमा मेडिकल शिक्षामा भएको कोटा सिस्टमका कारण त्यहाँबाट एमबीबीएस अध्ययनका लागि विद्यार्थी नेपाल आउने गरेको कुरा साँचो हो । इन्जिनियरिङमा भने भारतमा छ्याछ्याप्ती पढाई हुन्छ । तर, पढाई खासै राम्रो छैन । विश्वविद्यालयभन्दा बाहेक त्यहाँ काउन्सिलले मान्यता नदिएका कलेजहरुमा पनि इन्जिनियरिङ पढाइ हुन्छ । त्यसैले नेपालमा इन्ट्रान्समा फेल भएका केही विद्यार्थीहरु भारतमा गएर पनि अध्ययन गरेको पाइन्छ । तर, कतिपय विद्यार्थीहरु काउन्सिलले मान्यता नदिएको कलेजमा अध्ययन गर्दा फसेका पनि छन् । त्यसैले भारतको तुलनामा नेपालको इन्जिनियरिङ शिक्षा धेरै राम्रो छ । तर, विदेशी विद्यार्थीलाई नेपालमा इन्जिनियरिङ अध्ययनका लागि आकर्षण गर्नका लागि शिक्षा मन्त्रालय, विश्वविद्यालय र विश्वविद्यालय अनुदान आयोगले केही नीतिगत व्यवस्था गर्न जरुरी छ । त्यसका बारेमा हामीले छलफल चलाइरहेका छौँ । यदि हामीले दिएका सुझावका आधारमा सम्बन्धित निकायले चासो देखाएर नीतिगत व्यवस्था गरेको अवस्थामा विदेशी विद्यार्थीलाई इन्जिनियरिङ अध्ययनका लागि नेपाल भित्र्याउन सकिन्छ ।

यतिबेला नेपालको सन्दर्भमा इन्जिनियरिङ शिक्षामा कुन चाहिँ बिधाको स्कोप बढी छ ?

सिभिल भनेको त सिभिल नै हो । पहिलादेखि नै इन्जिनियर भनेर त्यही सिभिल इन्जिनियरलाई नै चिनिन्थ्यो । नेपालमा धेरै भौतिक पूर्वाधार बन्न बाँकी छन् । सडक, विमानस्थल बिस्तार, सुररुङ मार्ग, रेलवे, फास्टट्राक लगायतका आयोजनाहरु बनिरहेका छन् । केही बन्ने सुरसारमा छन् । यी सबै ठाउँमा सिभिल इन्जिनियरहरुकै आवश्यकता पर्दछ । त्यतिमात्र होइन आफ्नै एउटा कन्सल्टेन्सीमार्फत विभिन्न डिजाइन गरेर पनि सिभिल इन्जिनियरले जीविकोपार्जन गर्न सक्छ । त्यसैले नेपालको सन्दर्भमा इन्जिनियरिङ सबैभन्दा बढी स्कोप भएको क्षेत्र सिभिल नै हो । त्यसैले हिलसाइडमा पनि सिभिल इन्जिनियरिङका विषय पढाई हुन्छ ।

नेपालमा अध्ययन गरेका इन्जिनियरहरुलाई नेपालमै रोक्न सकिएको छैन नि किन ?

धेरै इन्जिनियरहरु नेपालमै रोजगार छन् । अहिले विभिन्न स्थानीय तहले इन्जिनियरहरु मागिरहेका छन् । तर, सोचेजस्तो भने भएको छैन । नेपालमा ७५३ स्थानीय निकाय छन् । त्यसका सबै वडामा एकजना सिभिल इन्जिनियर नियुक्त गर्नुपर्छ । अहिले सडक बिस्तारदेखि नयाँ सडक खन्ने र भौतिक पूर्वाधारका विषयमा इस्टिमेट गर्नका लागि नगर÷गाउँपालिकाका प्रमुख नै इन्जिनियर भइरहेको अवस्था छ । बिना प्राविधिक पहाडमा भौतिक संरचना बिस्तार गर्दा बाढी पहिरोबाट क्षति हुने डर हुन्छ । त्यसैले राम्रोसँग सुपरिभिजनसहित इन्जिनियरिङ डिजाइन गराएर भौतिक पूर्वाधारको विकास गर्यौं भने त्यो दिगो हुन्छ । तर, त्यसका लागि हरेक वडामा एकजना इन्जिनियरको आवश्यकता छ । त्यो राज्यले पूरा गर्नुपर्छ । जसले गर्दा दक्ष जनशक्ति विदेश पलायन हुने अवस्था पनि आउँदैन ।

यतिबेला नेपालमा इन्जिनियरिङ शिक्षाका चुनौतिहरु के–के हुन् ?

अहिले इन्जिनियरिङ शिक्षामा ठूलो चुनौति भनेको कक्षा १२ पास भएलगत्तै विद्यार्थीको विदेश पलायन हुनु हो । यनीहरुलाई कामसँगै पढाईको व्यवस्था गर्न नसक्ने हो भने यसले विकराल रुप लिन सक्छ । हिजोका दिनमा इन्जिनियरिङ अध्ययन गरेका विद्यार्थीले फिल्डमा गएर काम गर्न नसक्ने एउटा चुनौति थियो । त्यसैलाई मध्यनजर गर्दै पूर्वाञ्चल विश्वविद्यालयले अध्ययनपछि तीन महिना अनिवार्य इन्टर्नशीप गर्नुपर्ने गरी कोर्स डिजाइन गरेको छ । यस्तो कोर्स डिजाइन गर्ने पहिलो विश्वविद्यालय नै पूर्वाञ्चल हो । अहिले इन्जिनियरिङ अध्ययन गरेका विद्यार्थीको ४० नम्बरको आन्तरिक मूल्यांकन गरिन्छ । यसमा राम्रोसँग उत्तीर्ण गर्ने विद्यार्थीले ६० नम्बरको परीक्षामा राम्रो अंक प्राप्त गर्दछ । जसले गर्दा पास रेट पनि बढ्ने भयो ज्ञान पनि राम्रोसँग प्राप्त हुने भयो ।

नेपालमा अहिले इन्जिनियरहरुले कति आम्दानी गर्छन् ?

औसतमा नेपालका इन्जिनियरहरुले मासिक ५० हजारभन्दा बढी आम्दानी गर्छन् । कुनै इन्जिनियर विदेश नै गयो भने पनि उसले मासिक ४ देखि ५ लाख रुपैयाँसम्म कमाउँछ । रेमिट्यान्सले चलेको हाम्रो जस्तो मुलुकका लागि दक्ष जनशक्ति बाहिर जाँदा उसले पठाउने रेमिट्यान्स पनि बढी हुन्छ । अहिले दक्षिण कोरियाको एउटा पानी जहाज बनाउने कम्पनीले सयजना भन्दा बढी इलेक्ट्रिकल इन्जिनियर माग गरिरहेको छ । तर, नेपालमा इलेक्ट्रिकल इन्जिनियर पर्याप्त मात्रामा उत्पादन नै हुन सकेको छैन । हामीले पनि केही समय अघि रिसर्चका लागि इन्जिनियरहरुको आवेदन माग गरेका थियौँ । त्यसमा एकजनाको पनि आवेदन परेन । तर, बजारमा इन्जिनियरहरु बेरोजगार भए भन्ने हल्ला छ । त्यो होइन, उनीहरु एउटा न एउटा काममा व्यस्त भइरहेका छन् । तर, उनीहरुले पारिश्रमिक चाहिँ सन्तोषजनक छैन ।

हिलसाइडले चाहिँ कुन–कुन विधामा इन्जिनियरिङ अध्यापन गराइरहेको छ ?

हामीले सिभिल, इलेक्ट्रिकल, मास्टर इन इलेक्ट्रीकल पावर इन्जिनियरिङ लगायतका विषय अध्यापन गराउँछौँ । त्यस्तै, कन्स्ट्रक्सन म्यानेजमेन्ट पनि हामीले अध्यापन गराउँदै आएका छौँ । जसअन्तर्गत सिभिल इन्जिनियरिङमा ९६, इलेक्टिङकलमा ४८ र मास्टरमा २० सीटमा भर्ना लिन्छौँ । अब छिट्टै कम्प्युटर इन्जिनियरिङको कोर्स पनि सुरुवात गर्दैछौँ ।

इलेक्ट्रिकल इन्जिनिरिङ किन पढ्ने ? यसबारेमा थोरै बताइदिनुहोस् न ।

अहिले सिभिल पछि असाध्यै धेरै स्कोप भएको विषय भनेको इलेक्ट्रिकल इन्जिनियरिङ हो । जुन विषय हामीले हिलसाइडमा अध्यापन गराउँदै आएका छौँ । नेपालमा पछिल्लो समय हाइड्रोपावरहरु धमाधम बन्ने क्रममा छन् । त्यसका लागि हजारौं संख्यामा इलेक्ट्रिकल इन्जिनियरको आवश्यकता पर्दछ । त्यस्तै, इलेक्ट्रिकल इन्जिनियरिङ अध्ययन गरेको मानिस कम्युनिकेशनको क्षेत्रमा पनि जान सक्छ । जस्तै, एनटिसी, एनसेल जस्ता दूरसञ्चार सेवा प्रदायक संस्थामा पनि ठूलो संख्यामा इलेक्ट्रिकल इन्जिनियरको माग हुन्छ । त्यस्तै, ठूला–ठूला अपार्टमेन्ट निर्माण हुँदा होस् वा अण्डरग्राउण्डेड सडकमा वायरिङका लागि इलेक्ट्रिकल इन्जिनियरको ठूलो माग हुन्छ । इलेक्ट्रिकल कुरा हाम्रो जीवनचर्यासँगै जोडिएको विषय हो । तर, इलेक्ट्रिकल किन पढ्ने ? पढेपछि यसको स्कोप के छ भन्ने बारे धेरै विद्यार्थी अन्योलमा छन् । त्यसैले म के भन्न चाहन्छु भने इलेक्ट्रिकल इन्जिनियरिङको स्कोप धेरै छ । हाम्रो कलेजबाटै उत्तीर्ण भएको इन्जिनियरहरु पनि नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, एनसेल लगायतका संस्थामा आवद्ध भइ काम गर्दै आउनुभएको छ । कतै जागिर पाइएन भने पनि यो विषय पढेको विद्यार्थीले आफैं व्यवसाय गरेरसमेत आफ्नो गुजारा चलाउन सक्दछन् ।

नेपालमा इन्जिनियरिङ अध्ययन महँगो छ, यसलाई मध्यम वर्गीय परिवारका छोराछोरीले पनि पढ्न सक्ने गरी सर्वसुलभ बनाउन के गर्नुपर्ला ?

हिलसाइड कलेज अफ इन्जिनियरिङको सन्दर्भमा कुरा गर्ने हो भने हाम्रोमा इन्जिनियरिङ अध्ययनको शुल्क अत्यन्तै कम छ । मध्यम वर्गीय परिवारका विद्यार्थीलाई लक्षित गरेर नै हामीले यो कलेजको स्थापना गरेका हौँ । हामीले इन्टर्नसीपका लागि अरुण काबेली हाइड्रोपावरसँग सम्झौता गरेका छौँ । हाम्रा विद्यार्थीले त्यहाँ गएर तीन महिना निःशुल्क इन्टर्नसीप गर्न पाउनुहुन्छ । तीन महिनासम्म उहाँहरुलाई खाने बस्ने व्यवस्था कम्पनीले नै गर्छ । साथै, पकेट खर्चस्वरुप मासिक ५ हजार रुपैयाँ पनि दिने व्यवस्था गरिएको छ । शुल्कको कुरा आउँदा हाम्रो जम्मा शुल्क भनेको ११ लाख ४० हजार हो । त्यसमा पनि २ लाख ९० रुपैयाँ जनरल छुट गरेका छौँ । त्यस्तै, महिला, दुर्गम एवम् पिछडिएका वर्ग, अपाङ्गता भएकाहरुलाई थप छुटसमेत दिँदै आएका छौँ । अब अरुले के गर्नुभएको छ कति शुल्क लिनुभएको छ त्यो चाहिँ थाहा भएन ।

इन्जिनियरिङ अध्ययनका लागि हिलसाइड नै किन रोज्ने ?

हामी मध्यम वर्गीय परिवारका विद्यार्थी लक्षित कलेज भएकाले सबैसँग एकैपटक तिर्ने पैसा नहुन सक्छ । त्यसैलाई मध्यनजर गर्दै हामीले बैंकिङ सुविधा दिने तयारी गरिरहेका छौँ । जसमा विद्यार्थीले अध्ययन गरुञ्जेल बैंकबाट ऋण लिएर ब्याजमात्र तिरेपुग्छ । पासवाउट भएपछि किस्ता तिर्ने व्यवस्था मिलाउँदैछौँ । त्यो ऋण अवधि १० वर्षको हुनेछ । त्यो भयो भने पैसाकै अभावमा एउटा विद्यार्थी इन्जिनियरिङ अध्ययनबाट बिमुख हुनुपर्दैन । जसले अभिभावकलाई पनि तनाव हुँदैन । अनि ऋण लिएर अध्ययन गरेको विद्यार्थीलाई प्राथमिकतामा राखेर हिलसाइडले जागिर खोज्नका लागि सहयोग गर्नेछ । यसका अलावा हाम्रोमा उत्कृष्ट फुलटाइम फ्याकल्टीहरु हुनुहुन्छ । जो विद्यार्थीप्रति साह्रै जिम्मेवार हुनुहुन्छ । अत्याधुनिक प्रयोगशाला छ । अर्को भनेको हामीले विद्यार्थीलाई इन्ट्रर्नसीपका लागि सहयोग गर्छौं । विद्यार्थीले निःशुल्क इन्टर्नसीप गर्न पाउँछन् । त्यसैले इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीका लागि हिलसाइड कलेज अफ इन्जिनियरिङ उपयुक्त गन्तव्य बन्न सक्दछ ।

इन्जिनियरिङ शिक्षालाई व्यवस्थित बनाउन राज्यले के गर्नुपर्ला ?

राज्यले पढाईसँगै कामको व्यवस्था गर्नुपर्छ । इन्जिनियर पढेपछि बेरोजगार भयो भने त्यसको जिम्मा राज्यले लिनुपर्छ । अहिले थुपै्र जिल्लामा इन्जिनियरको दरबन्दी खाली छ । सबै स्थानीय तहका प्रत्येक वडामा एक एक जना सिभिल र इलेक्ट्रिकल इन्जिनियरको व्यवस्थापन गर्न सक्नुपर्छ । यसो गर्दा थुप्रै जनशक्तिलाई व्यवस्थापन गर्न सकिन्छ ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट