साउथवेष्टन स्टेट कलेजमा आगामी आर्थिक वर्षको बजेटमाथि अन्तक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । बसुन्धारास्थित साउथवेष्टन स्टेट कलेजमा सरकारद्वारा आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजित बजेटमाथि अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कलेजको सहयोग र सहजीकरणमा सोमबार साउथवेस्टन भूतपूर्व विद्यार्थी समाज, साउथवेष्टन म्यानेजमेन्ट क्बलको आयोजनामा बजेटबाट अपेक्षा र कार्यान्वयनका विषयमा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य एवम् पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतको प्रमुख आतिथ्यता रहेको थियो । साथै, अन्तक्रिया कार्यक्रममा अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार प्रा.डा. सूर्यबहादुर थापा र नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली वक्ताका रुपमा रहेका थिए ।
कार्यक्रममा कलेजका सहायक क्याम्पस प्रमुख हरिसिंह केसीले सहभागिलाई मन्तव्यमार्फत स्वागत गरेका थिए । उनले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै वि.सं. २००८ सालदेखि हालसम्म बजेट र यसको कार्यान्वयनको पक्षका बारेमा छलफल हुने बताएका थिए । ‘अबको बजेट कस्तो हुनुपर्छ ? बजेट भन्ने बित्तिकै आम्दानी र खर्चको हिसाब कस्तो हुनुपर्छ ?,’ प्रश्न गर्दै उनले भने, ‘सरकारको नीति तथा कार्यक्रम कस्तो थियो र त्यसलाई सहयोग गर्ने बजेट आएको छ कि छैन भन्ने उद्धेश्यले अन्तक्र्रिया आयोजना गरिएको हो ।’
कार्यक्रममा बोल्ने क्रममा प्रमुख अतिथि डा. महतले सरकारले बजेटमा स्रोतको पहिचान गर्न नसकेको बताए । ‘हामीसँग स्रोतहरु छन् । हामी धनी देश हौँ तर त्यसलाई हामीले पहिचान र प्रयोगमा ल्याउन सकेका छैनौँ,’ उनले भने ‘हामीले स्रोतलाई सन्दुकभित्र ताल्चा लगाएर राखेका छौँ । जसकारण हामीले स्रोत साधनलाई उपयोगमा ल्याउन सकेका छैनौँ ।’
नेपालको कुल ग्राहस्थ उत्पादनको अनुपात भारत र बंगलादेशको तुलनामा बढी छ । तर, उनीहरुको तुलनामा वार्षिक आर्थिक वृद्धिदर अनुपात भने नेपालको कम छ । त्यस्तै, खर्चको अनुपात पनि भारत र बंगलादेशभन्दा बढी नेपालको बढी छ । तर, उत्पादन उनीहरुको भन्दा कम भइरहेको उनले बताए । नेपालले जहाँ लगानी गर्यो त्यहाँबाट प्रतिफल आउन नसक्दा आर्थिक वृद्धिदर सोचेजस्तो हुन नसकेको उनले बताए । ‘गलत ठाउँमा लगानी हुँदा अहिले निजी क्षेत्रमा ऋण तिर्न हाहाकार भएको छ,’ उनले भने, ‘गलत ठाउँमा लगानी भएपछि प्रतिफल आएन त्यही भएर अहिले निजी क्षेत्रलाई ऋण तिर्न हाहाकार भएको हो ।’
यसैगरी, नेपालको सरकारी खर्च पनि ठीक ठाउँमा नभएको उनले बताए । ‘अहिले ठूला–ठूला बिल्डिङमा धेरैमा लगानी भएका छन् । त्यसबाट के प्रतिफल आउला ?,’ उनले प्रश्न गर्दै भने, ‘यसरी गलत ठाउँमा लगानी हुँदा हाम्रो कुल ग्राहस्थ उत्पादन बढ्न नसकेको हो ।’
नेपालको सन्दर्भमा वितरणमुखी भन्दा पनि उत्पादनमुखी बजेटको खाँचो रहेको डा. महतले बताए । ‘अर्थमन्त्री ज्यूले आगामी आर्थिक वर्षका लािग १८ खर्ब ६० अर्ब ३१ करोडको बजेट प्रस्ताव गर्नुभएको छ । जसको आम्दानी अन्तर्गत ९० अर्ब थप ऋण निजी क्षेत्रको बैंकबाट लिने प्रस्ताव गर्नुभएको छ । निजी बैंक, सरकारी बैंकबाट सरकारले ऋण लिएपछि त्यसको प्रभाव के हुन्छ ?,’ उनले भने, ‘सरकारले बैंकहरुबाट ऋण लिँदा निजी क्षेत्रलाई उपलब्ध ऋण कम हुन्छ । अब निजी क्षेत्रको माग बढ्नासाथ ऋण दिने पैसा बैंकसँग हुँदैन, त्यसपछि बैंकको ब्याजदर बढ्छ ।’
अन्तक्रिया कार्यक्रममा वक्ताका रुपमा रहेका अर्थमन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार प्रा.डा सूर्यबहादुर थापाले बजेट आम्दानी र खर्चको दस्तावेज भएको बताए । प्यानल छलफलका क्रममा सरकारको बजेट निर्माणमा अर्थमन्त्रीको भूमिका कत्तिको रहन्छ ? भन्ने प्रश्नमा प्रा.डा. थापाले भने, ‘बजेट भनेको अर्थमन्त्रीको नीति तथा कार्यक्रम हो । त्यसैले अर्थमन्त्रीले चाहेका कुराहरु नै बजेटमा समावेश हुने हो,’ छलफमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले भने, ‘बजेट बनाउने सन्दर्भमा कर्मचारीहरुले काम गर्छन् र त्यसमा अर्थमन्त्रीले निर्देशन दिनुहुन्छ ।’
त्यस्तै, अन्तक्रिया कार्यक्रमका अर्का वक्ता नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले बजेटले आममानिसमा रहेको निराशा चिर्ने कुरामा अन्योलता सिर्जना गरेको बताए । कार्यक्रममा बोल्नेक्रममा उनले सरकारले आम्दानी र पूँजीगत खर्चको ठूलो लक्ष्य राखेपनि त्यो लक्ष्य हासिल गर्न गाह्रो हुने बताए । ‘सरकारले पूँजीगत खर्च राख्नेमात्र हो त्यो खर्च गर्न सक्ने अवस्था छैन । आम्दानीको लक्ष्य जे जति राखेपनि ७५ प्रतिशत पनि उठ्दैन र पूँजीगत खर्च पनि ५० प्रतिशत पनि खर्च हुँने सम्भावना छैन,’ उनले भने ।
कार्यक्रममा पूर्व अर्थमन्त्री एवम् प्रतिनिधि सभा सदस्य डा. महतले सरकारले बैंकबाट ऋण लिएपछि निजी क्षेत्रमा ऋण प्रवाह कम हुने जसकारण बैंकको ब्याजदर बढ्ने तर्क गरेका थिए । यसमा वक्ताका रुपमा रहेका ज्ञवालीले भने पूर्व अर्थमन्त्रीले भनेजस्तो बैंकको ब्याजदर नबढ्ने दाबी गरे । ‘अब बैंकको व्याजदर बढ्दैन । अझै घट्दै जान्छ । अब १ वर्ष एकल अंकमा बैंकको ब्याजदर रहन्छ,’ उनले भने, ‘उद्योगी व्यवसायीले सस्तोदरमा ऋण पाउँछन् ।’
साउथवेष्टन स्टेट कलेजका प्रमुख एवम् कार्यक्रमका सभापति डा. राजेन्द्र केसीले अन्तक्रिया कार्यक्रमले देशको बजेटको चित्रलाई छर्लंङ्ग पारेको बताए । ‘हामी कहाँ छौँ र सरकारले विनियोजन गरेको बजेटले देशलाई कुन बाटोमा लगिरहेको छ भन्ने कुरा यो अन्तक्रिया कार्यक्रमले छर्लंग पारेको छ,’ उनले भने ।
कार्यक्रमलाई समापन गर्ने क्रममा उनले २०४८ सालभन्दा पछि भएको राजनीतिक परिवर्तन र त्यसले देश विकासमा पारेको प्रभावका बारेमा आफ्नो धारणा राखेका थिए । उनले भने, ‘०४८ सालपछि जति पनि राजनीतिक परिवर्तन भए त्यसले जनतामा के परिवर्तन ल्यायो ?’
छलफलमा स्रोत र त्यसको समुचित उपयोगका बारेमा कुरा उठेपनि नेपालले आफूसँग भएको स्रोत साधनलाई सही सदूपयोग गर्न नसकेको बताए । ‘हामी युवा बेच्ने देश भयौँ,’ उनले भने, ‘ हामी सम्भावना नै सम्भावना भएको देशमा छौँ तर भाबी पुस्ताले नेपालमा भविष्य सुरक्षित देख्न छोडिसके । एयरपोर्टमा देश छोड्ने युवाशक्तिलाई हेर्ने हो भने नेपालमा ठूलो अभाव र हाहाकार मच्चिरहेको भान हुन्छ ।’
कार्यक्रममा स्नातक तह स्नातकोत्तर तहका विद्यार्थीहरुको भव्य सहभागिता रहेको थियो । विद्यार्थीहरुले अन्तक्रिया कार्यक्रममा उठेका विषयवस्तुमाथि आफ्नो जिज्ञाशा राखेका थिए । प्यालन छलफललाई नविन काफ्लेले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए । भने, कलेजका कार्यक्रम संयोजक राजेन्द्रप्रसाद लामिछानेले कार्यक्रमलाई सञ्चालन गरेका थिए ।
- # college
- # education
- # kathmandu
- # manoj gyawali
- # nabil bank
- # prakashsharan mahat
- # southwesternstatecollege
- # साउथवेस्टन स्टेट कलेज
ताजा अपडेट
- सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी
- सहिद आदर्श क्याम्पसको स्ववियु सभापतिमा नेविसंघको तर्फबाट राजेश तिमल्सिनाको उम्मेदवारी
- स्ववियु निर्वाचनः त्रिविका ५५ वटा क्याम्पसमा भयो उम्मेदवारी दर्ता, सात क्याम्पसमा हुन सकेन
- लुम्बिनी बौद्ध विश्वविद्यालयले अमेरिकाको क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्ने
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- रिलायन्स एजुकेसन नेटवर्कको विज्ञान र साहित्य मेला सम्पन्न
- शुभश्री कलेज अफ म्यानेजमेन्ट र मर्क्युर होटलबीच सम्झौता
- कक्षा १२ को परीक्षा ११ बैशाखबाट हुने
धेरैले पढेको
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- “Exciting Rivals and Unmatched Action at The Aradhya Pickleball Championship 2025”
- शुभश्री कलेज अफ म्यानेजमेन्ट र मर्क्युर होटलबीच सम्झौता
- सातौं सेन्ट लरेन्स साइन्स एण्ड आइटी एक्स्पो सुरु, १० हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान
- सहिद आदर्श क्याम्पसको स्ववियु सभापतिमा नेविसंघको तर्फबाट राजेश तिमल्सिनाको उम्मेदवारी
- रिलायन्स एजुकेसन नेटवर्कको पुस्तक समीक्षा स्वर्ण उत्सव सम्पन्न
- रिलायन्स एजुकेसन नेटवर्कको विज्ञान र साहित्य मेला सम्पन्न
तपाईको प्रतिक्रिया