Techie IT
  • शुक्रबार, फागुन ३०, २०८१ / Saturday, March 15, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठशिक्षा समाचारतिलगंंगाले विद्यार्थीसँग नियमविपरित २ करोड बढी शुल्क असुलेको खुलासा

तिलगंंगाले विद्यार्थीसँग नियमविपरित २ करोड बढी शुल्क असुलेको खुलासा


काठमाडौं— तिलगंगा आँखा प्रतिष्ठान अन्तर्गतको तिलगंगा स्कुल अफ अप्थाल्मिक साइन्सलेले नेत्र सहायक अर्थात अप्थाल्मिक असिस्टेन्ट (ओए अध्ययनरत विद्यार्थीमाथि ब्रम्हलुट मच्चाएको पाइएको छ । एजुकेशन समाचारलाई प्राप्त प्रमाणका आधारमा अस्पतालले विगत १० वर्षदेखि नियमानुसार दिनुपर्ने ३० प्रतिशत छुट नदिई विद्यार्थीसँग मनोमानी शुल्क असुलेको पाइएको हो ।

तिलगंगा आँखा अस्पताललाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीईभीटी)ले ९ मंसिर २०७१ मा सम्बन्धन दिएको थियो । सिटीईभीटीले अस्पताललाई दिएको सम्बन्धन पत्रको अन्तिम अर्थात ४० नम्बर बुँदामा विद्यार्थीहरुसँग लिने प्रशिक्षण शुल्क निजी संस्थाभन्दा कम्तीमा ३० प्रतिशत कम लिनुपर्ने उल्लेख छ ।

तर, तिलगंगाले भने छुट दिनुको सट्टा विद्यार्थीहरुसँग निजीले भन्दा बढी शुल्क असुलिरहेको पाइएको छ । यतिसम्म कि अस्पतालकै शुल्क संरचनामा छुट उल्लेख गरिएको रकमसमेत विद्यार्थीलाई दिइएको छैन ।

कसरी/कति असुलियो बढी शुल्क ?

तिलगंगाले ओए अध्यापनका लागि प्रत्येक विद्यार्थीसँग ३ लाख ९४ हजार रुपैयाँ असुलिरहेको छ । उक्त रकम विद्यार्थीले तीन किस्तामा तिर्नुपर्ने हुन्छ । जसमा पहिलो किस्तामा १ लाख ५८ हजार, दोस्रो किस्तामा १ लाख १८ हजार र तेस्रो किस्तामा १ लाख १८ हजार रुपैयाँ विद्यार्थीले तिर्दै आएका छन् । हाल विद्यार्थीले तिर्दै आएको यो छुटबाहेकको शुल्क हो । अस्पतालले आफ्नो शुल्क संरचनामा ट्युसन फी अर्थात प्रशिक्षण शुल्कमा ३० प्रतिशत छुट स्पष्टसँग लेखेको छ । तर, विद्यार्थीलाई भने उक्त छुट दिइएको छैन ।

 

अस्पतालका मानव स्रोत साधन प्रमुख मुकेश सिंहले एजुकेशन समाचारलाई उपलब्ध गराएको शुल्क संरचनाको ट्युसन फी बापत प्रति महिना ६ हजार ५ सय रुपैयाँ उल्लेख छ । ३ वर्ष अर्थात ३६ महिनामा विद्यार्थीले ट्युसन फी अर्थात प्रशिक्षण शुल्क बापत २ लाख ३४ हजार रुपैयाँ तिर्दै आएका छन् ।

सिटीईभीटीले प्रशिक्षण शुल्कमा ३० प्रतिशत कम लिनुपर्ने भनिएको यसैमा हो । तर, दिइएको छैन । यसमा अस्पतालले छुट दिने हो भने विद्यार्थीले ट्युसन फीबापत १ लाख ६३ हजार ८ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ । तर, अस्पतालले विद्यार्थीसँग ७० हजार २ सय रुपैयाँ बढी शुल्क असुलिरहेको देखिन्छ । १० औं ब्याचसम्म आइपुग्दा तिलगंगामा ३ सय ८० जना विद्यार्थी ओए अध्ययनका लागि भर्ना भएका छन् । हाल १० औं ब्याचमा ३९ जना विद्यार्थी अध्ययनरत छन् । अस्पतालले प्रत्येक वर्ष ४० सिटमा ओए अध्यापन गराउँदै आएकोमा ३ जनालाई वर्गीकृत छात्रवृत्ति र १ जना विद्यार्थीलाई जेहेन्दार छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

१० औँ ब्याचसम्म आइपुग्दा तिलगंगाले ३ सय ८० विद्यार्थीमध्ये ४० जनालाई छात्रवृत्तिमा अध्यापन गराएको छ । यो बाहेक अन्य ३ सय ४० जनालाई भने सम्बन्धन पत्रमा उल्लेख गरिएको छुटसमेत नदिई पूर्ण शुल्क ३ लाख ९४ हजार रुपैयाँ लिइरहेको छ । वास्तवमा यी विद्यार्थीलाई प्रशिक्षण शुल्कमा ३० प्रतिशत छुट दिने हो भने उनीहरुले तीन लाख २३ हजार ८ सय रुपैयाँमात्र तिरे पुग्छ । तर, छुट नदिई तिलगंगाले हालसम्म ३ सय ४० जना विद्यार्थीबाट २ करोड ३८ लाख ६८ हजार रुपैयाँ बढी शुल्क असुलेको देखिन्छ ।

बढी शुल्क लिएको विषयमा संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिईओ) डा. रीता गुरुङसँग बुझ्न खोज्दा उनले आफूलाई ‘फी स्ट्रक्चर’का बारेमा केही थाहा नभएकाले संस्थाका प्रमुख वित्तिय अधिकृत (सीएफओ) रामचन्द्र खनाललाई सम्पर्क गर्न भनिन् । त्यसपछि हामीले खनाललाई सम्पर्क गर्यौं । उनले पनि यस विषयमा आफूलाई प्रष्ट थाहा नभएको भन्दै पन्छिन खोजे ।

खनालले मानव संशाधन विभागका प्रमुख मुकेश सिंहसँग सबै कुरा बुझ्न भने । त्यसपछि हामी सिंहको सम्पर्कमा पुग्यौं । मुकेशले एजुकेशन समाचारसँगको कुराकानीका क्रममा तिलगंगाले प्रत्येक वर्ष विद्यार्थीलाई सिटीईभीटीले तोकेको छुट प्रदान गरिरहेको दाबी गरे । ‘हामीले सिटीईभीटीले तोकेको छुट विद्यार्थीलाई दिइरहेका छौँ,’ सिंहले भने । तर, तपाईंले नै उपलब्ध गराएको शुल्क संरचनाअनुसार त विद्यार्थीलाई छुट दिएको देखिँदैन त ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘हामीले सिटीइभीटीले तोकेको छुट विद्यार्थीलाई दिएका छौं । अब बाँकी कुरा सिटीईभीटीलाई सोध्नुहोला यदि तपाईंले छुट दिएको देख्नुहुन्न भने छुट दिएको छैन भनेर लेख्नुस् मेरो भन्नु केही छैन ।’

अन्य संस्थाले कतिमा पढाइरहेका छन् ओए ?

तिलगंगाले तीन लाख ९४ हजार रुपैयाँमा पढाइरहेको ओए कार्यक्रम सीटीईभीटीको आंगिक शिक्षालयहरुले भने दुई लाख पाँच हजार रुपैयाँमा अध्यापन गराइरहेका छन् । बालाजु स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीले यही कार्यक्रम उक्त शुल्कमा पढाइरहेको छ ।

सिटीईभीटीबाट सम्बन्धनप्राप्त राप्ती आँखा अस्पतालले विगत ८ वर्षदेखि अप्थाल्मिक असिस्टेन्ट अध्यापन गराउँदै आएको छ । अस्पतालका को–अर्डिनेटर ओम यादवका अनुसार अस्पतालले तीन लाख रुपैयाँ शुल्कमा ओए अध्यापन गराइरहेको जानकारी दिए ।

यता पोखरा टेक्निकल स्कुलले पनि दुई वर्ष अघिसम्म ओए अध्यापन गराउँथ्यो । उक्त स्कुलले पनि ३ लाख ६० हजार रुपैयाँ शुल्कमा ओए अध्यापन गराएको प्रिन्सिपल हर्कलाल श्रेष्ठले जानकारी दिए । त्यस्तै, सिटीईभीटीमार्फत सम्बन्धन लिई ओए अध्यापन गराइरहेको कलेज अफ अप्थाल्मिक हेल्थ साइन्स नेपालगन्ज र फत्तेबाल आँखा अस्पतालले यही कोर्सको तीन लाख ७५ हजार रुपैयाँमा अध्यापन गराइरहेको छ । फत्यबाल निजी अस्पताल हो ।

त्यस्तै, सिटीईभीटीबाटै सम्बन्धनप्राप्त लुम्बिनी आँखा अस्पतालले ४ लाख ४ हजार रुपैयाँ शुल्कमा पढाउँदै आएको छ । कलेजका प्रिन्सिपल समिम खानका अनुसार विद्यार्थीले तीन वर्षमा तीन किस्तामा उक्त रकम तिर्नुपर्नेछ । ‘पहिलो वर्ष ४०, दोस्रो र तेस्रो वर्ष ३०/३० प्रतिशत शुल्क तिर्नुपर्छ,’ उनले भने, ‘सीटीईभीटीको निर्देशनअनुसार प्रत्येक वर्ष तीन जनालाई वर्गीकृत र एक जनालाई जेहेन्दार छात्रवृत्ति दिँदै आएका छौँ ।’

तर, आफूलाई गैरनाफामूलक संस्थाका रुपमा चिनाउँदै आएको तिलगंगा आँखा अस्पतालले भने निजी संस्थाले लिनेभन्दा पनि बढी शुल्क विद्यार्थीहरुबाट असुलिरहेको छ । त्यसमाथि दिनुपर्ने छुटसमेत दिएको छैन । त्यसकारण तिलगंगाले जाना—जान विद्यार्थीमाथि ब्रम्हलुट तरिकाबाट शुल्क असुलिरहेको तथ्य पुष्टि हुन्छ ।

के भन्छन् सिटीईभीटीका अधिकारी ?

सिटीईभीटीले प्रमाणपत्र तह नर्सिङ, प्रमाणपत्र तह सामान्य चिकित्सा, डिप्लोमा इन फार्मेसीलगायतका कार्यक्रमको शुल्क निर्धारण गरेको छ । तर, ओएको शुल्क भने निर्धारण नगरिएको सिटीईभीटी स्तर निर्धारण महाशाखाका प्रमुख एकराज अधिकारी बताउँछन् । यद्यपि, संस्थाहरुले विद्यार्थीलाई दिनुपर्ने छात्रवृत्ति दिएका छन् कि छैनन्, कति शुल्क लिइरहेका छन् भन्ने बारे नियमित अनुगमन गरिरहेको उनको भनाइ छ ।

‘हामीले अरु कार्यक्रमको शुल्क निर्धारण गरेका छौं । तर, ओएको चाहिँ शुल्क निर्धारण गरेका छैनौं,’ उनले भने, ‘तर, उनीहरुले कति शुल्क लिइरहेका छन् भन्नेबारे चाहिँ हाम्रो प्रदेश कार्यालयले नियमित अनुगमन गरिरहेको हुन्छ ।’ यी कार्यक्रमको शुल्क निर्धारण गर्ने बारेमा विभिन्न समयमा शुल्क निर्धारण समिति बनाइएपनि त्यसमा सिटीईभीटी असफल जस्तै भएको अधिकारी बताउँछन् ।

‘शिक्षा सर्वसुलभ हुनुपर्छ भन्ने कुरामा हामीले धेरै पहल गर्यौं तर यसमा शैक्षिक संस्था, विद्यार्थी संघसंगठनको विभिन्न स्वार्थ हुँदा यो विषय पेचिलो भएकाले शुल्क निर्धारण हुन नसकेको हो,’ अधिकारीले शुल्क निर्धारण नहुनुको कारण खुलाए ।

तर, शुल्क निर्धारण नभएका कार्यक्रममा कुनै संस्थाले मनोमानी ढंगबाट शुल्क लिएको वा सम्बन्धन लिने बेलामा विद्यार्थीलाई दिने भनिएको छुट नदिएको पाइएमा अनुसन्धान गरेर कारबाही गर्ने उनले बताए । ‘छुट दिने भनिएको रकम छुट नदिई असुलेको पाइयो भने त्यो रकम विद्यार्थीले फिर्ता पाउनुपर्छ,’ उनले भने ।

त्यस्तै, सिटीईभीटी बागमती प्रदेश कार्यालयका प्रमुख श्रीधर नेपाल पनि संस्थाले मनोमानी तवरबाट शुल्क लिएको र छुट दिनुपर्ने शुल्क नदिएको उजुरी आफूहरु कहाँ आएमा अनुसन्धान गर्ने बताउँछन् । ‘यदि कुनै विद्यार्थी वा कसैले संस्थाले छुट दिनुपर्ने रकम नदिई पूर्ण शुल्क असुल गरेको प्रमाणसहित सिटीईभीटीका सदस्यसचिव, स्तर निर्धारण महाशाखा वा प्रदेश कार्यालयमा उजुरी दिनुभयो भने हामी यथाशीघ्र अनुगमन गरी कारवाही प्रक्रिया अघि बढाउँछौँ ।’



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको