समाचार
नवप्रवर्तनमा आधारित समयसापेक्ष पाठ्यक्रम लागु गर्नुपर्छ : प्रधानमन्त्री
काठमाडौं—प्रधानमन्त्री पुष्पकमल दाहालले नवप्रवर्तनमा आधारित समयसापेक्ष पाठ्यक्रम तयार गरेर लागु गर्नुपर्ने बताएका छन् । शुक्रबार मध्यपश्चिम विश्वविद्यालयको १४ औँ सभा बैठकमा प्रधानमन्त्री दाहालले पाठ्यक्रम पुनः संरचना, भौतिक एवं मानव संशाधन विकासमा विश्वविद्यालयको ध्यान जानुपर्ने बताएका हुन् ।
‘विश्वविद्यालयले अवलम्बन गरेका शैक्षिक उत्कृष्टता, आर्थिक वृद्धि, पाठ्यक्रम पुनःसंरचना, अन्तर्राष्ट्रिय सम्बन्ध तथा आदान–प्रदान र पूर्वाधार विकाससम्बन्धी मार्गनिर्देशक सिद्धान्त, नीति तथा कार्यक्रमहरू समेत सराहनीय छन्,’ उनले भने ।
विश्वविद्यालयको सम्पूर्ण शैक्षिक क्रियाकलापहरू पूर्व निर्धारित शैक्षिक पात्रोअनुसार शैक्षिक गतिविधि सञ्चालन गर्ने नीति लिनु सुधारको पाटो भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले विश्वविद्यालयको विद्यमान परीक्षा प्रणालीमा सुधार गरी शैक्षिक पात्रोअनुसार परीक्षा लिने तथा निर्धारित समयभित्र नतिजा प्रकाशन गर्ने नीति कार्यान्वयनमा सरकारले सहयोग गर्ने विश्वास दिलाए । उनले परिवर्तनशील वैश्विक परिवेश एवं राष्ट्रिय, क्षेत्रीय र स्थानीय विकासका नीति तथा अवधारणा र श्रम बजारको मागअनुसार विश्वविद्यालयका सम्पूर्ण शैक्षिक कार्यक्रम तथा पाठ्यक्रमलाई थप प्राथमिकता दिन सुझाव दिए ।
प्रधानमन्त्री दाहालले विश्वविद्यालयका विभिन्न प्रयोगशालाबाट उत्पादित वस्तु, सेवा र सूचनाहरूको बजारीकरण र बिक्री वितरणमा आवश्यक पर्ने राष्ट्रिय नीति तथा कानुन निर्माणमा नेपाल सरकारको तर्फबाट सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । संविधानबाट निर्दिष्ट गणतान्त्रिक राज्यव्यवस्थाले अनुसरण गरेको सुशासन र सामाजिक न्यायको सिद्घान्तमा आधारित समाजवादउन्मूख शैक्षिक नीति, रणनीति तथा कार्यक्रम निर्माण गर्नुपर्ने बताउँदै प्रधानमन्त्री दाहालले नेपाली विद्यार्थीलाई स्वदेशमै उच्च शिक्षा अध्ययन गर्न उत्प्रेरित गर्दै देशको समृद्धिमा टेवा पुर्याउन विश्वविद्यालयले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
उनले कृषि तथा वन विज्ञानका क्षेत्रमा कर्णाली प्रदेश र समग्र नेपालकै भौगोलिक, सामाजिक एवं आर्थिक अवस्थालाई मध्यनजर गर्दै जल, जमिन, जङ्गल, जडीबुटी र जनशक्तिमा आधारित शैक्षिक, व्यावसायिक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । प्रधानमन्त्री दाहालले आधुनिक र रैथाने कृषि प्रणाली र ज्ञान–सीपको संयोजन गरी विभिन्न कार्यक्रम र परियोजनाहरू सञ्चालनमा आउने विश्वास व्यक्त गरे।
प्रधानमन्त्रीले सांस्कृतिक विविधता र प्राकृतिक स्रोत–साधनले सम्पन्न तर भौतिक पूर्वाधार विकास, औद्योगिकीकरण तथा मानव विकासका सूचकाङ्कमा पछाडि परेको कर्णाली प्रदेशमा स्थापित मध्यपश्चिम विश्वविद्यालयले आफ्नो स्थापनाको छोटो समयमै प्राज्ञिक उन्नयन, भौतिक विकास, सूचना प्रविधि सहितको कार्यप्रणाली विकासमा गरेको योगदान महत्त्वपूर्ण रहेको बताए ।
ताजा अपडेट
- ‘नेपालमा केही पनि गर्न सकिँदैन’ भन्दै प्रचार गर्ने कन्सल्टेन्सीलाई मन्त्रालयले दियो यस्तो चेतावनी
- टाइमलाइन स्कुलद्वारा गणेशप्रसाद रिजाल स्मृति गायन प्रतियोगिताको चौथो संस्करण सम्पन्न
- वडाध्यक्षलाई विव्यस अध्यक्ष बनाउने महानगरको प्रावधान सर्वोच्चद्वारा खारेज
- तिलोत्तमाका मेयर खाँणले आफ्नो तलबबाट दिए १४६ जना विद्यार्थीलाई छात्रवृत्ति
- दक्ष करिअर एकेडेमीले गर्यो ६५ औँ ब्याचका अफिसर क्याडेटको विदाई
- त्रिविले पायो ८ डीन र ३ निर्देशक, को–को भए नियुक्त ?
- बालाजुस्थित शितला मा.विमा वादविवाद प्रतियोगिता सम्पन्न
- त्रिवि गर्यो कलेजमै मार्कसीट प्रिन्ट हुने व्यवस्था
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू (भिडियोसहित)
- ४० वर्ष कटेपछि हुने आँखाको कमजोरी हटाउन माट्रीकाले ल्यायो प्रेस बाइ म्याक्स प्रविधि
- अष्ट्रेलियाबाट फर्केर म्यानेजमेन्ट कलेज हाँकिरहेकी ‘गुरुआमा’
- चैत १५ गतेबाट एसईई परीक्षा गर्ने बोर्डको निर्णय, पहिलो दिन अंग्रेजी
- एसईई परीक्षा रद्द हुँदा के हुन्छ ? राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष शर्माले यसो भने
- काठमाडौं पूर्वी भेगकै उत्कृष्ट मन्टेश्वरी ‘किड्स वर्ल्ड किन्डरगार्टेन’को वार्षिकोत्सव सम्पन्न
- नतिजाका आधारमा देशभरकै टप ५ भित्र मनास्लु वर्ल्ड कलेज
- NSL Nepal Open International Pickleball Tournament 2024: A Success Story
तपाईको प्रतिक्रिया